काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले आफूलाई हातहतियारसहितको समूहले घरमै आक्रमण गरेको खुलासा गरेका छन्।
फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले आक्रमणकारीहरूले आफ्नो घर जलाउने प्रयास गरेको र आफूलाई शारीरिक रूपमा हातपात गर्दै हत्या गर्न खोजेको दाबी गरेका छन्। “उनीहरूले मेरो घर जलाएर मलाई हत्या गर्न खोजेका थिए। शारीरिक हातपात त भयो नै, जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन पनि बाध्य पारियो,” कडरियाले भनेका छन् ।
उनले त्यस्तो पोस्ट गर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै त्यतिबेला त्यस्तो पोस्ट नगरिएको भए आज आफू जिउँदो नहुने पनि बताए। तर उनले अझैसम्म कुनै पनि संगठनबाट आधिकारिक रूपमा राजीनामा नदिएको स्पष्ट पारेका छन्।
“मलाई मार्न आएका हुन्, यो सत्य हो। मलाई हातपात भयो र मार्न खोजियो, तर एक जना चिनेको भाइले बचाएकै हो। म जीवनभर उनका प्रति कृतज्ञ रहनेछु,”कडरियाले भनेका छन् ।
देशको संवैधानिक व्यवस्थाको रक्षा गर्न सबै दल र जनता संयमित भएर एक हुने समय आएको बताउँदै उनले एमालेलाई नै देशलाई माया गर्ने शक्ति भएको दाबी गरेका छन्। “यति बेला अव कसैले मारे पनि एमाले छोड्दिन, यो नै सत्य हो,” उनले लेखेका छन्।
उनले आन्दोलनका क्रममा विद्यार्थीको ज्यान गएको विषयमा गलत भएको स्वीकार गर्दै त्यसपछि अराजकता झनै बढेको उल्लेख गरेका छन्। साथै, वरिष्ठ नेताहरू परिस्थिति व्यवस्थापन गर्न नसकेको र त्यसमा आफूबाट कमजोरी भएको भन्दै आत्मआलोचना पनि गरेका छन्।कडरियाले भदाै २४ गते फेस्बुक मार्फत अध्यक्षबाट राजीनामा दिएकाे घाेषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्