काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापाले आफ्नो घरमा आगजनी हुँदा व्यवसाय मात्र नभई जीवनभरको मेहनत खरानी भएको भन्दै पीडा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो मनको व्यथा पोख्दै आफू राजनीतिक व्यक्ति नभएको, न त कुनै भ्रष्टाचार वा तस्करीमा संलग्न भएको भन्दै स्पष्ट पारेका छन्। १७ वर्षको उमेरदेखि नै अध्ययनसँगै उद्यम सुरू गरेको उनले स्मरण गर्दै व्यवसायमै समर्पित जीवन बिताएको बताए।
उनका अनुसार उद्यम व्यवसायमार्फत धेरै युवालाई प्रेरित गर्दै आएको र नेपालमै व्यवसाय गर्नुपर्छ भन्ने सन्देश दिँदै आएको भए पनि पछिल्ला घटनाले मनोबल तोडेको छ। उनले आफ्नो उद्यममार्फत समाज र मानव सेवामा पनि योगदान गर्दै आएको उल्लेख गरे।
आफ्नो घरमा भएको आगजनीमा घर गुमाउनुको पीडा त छँदै थियो तर त्यसभन्दा ठूलो पीडा भने काम गर्ने महिलालाई गुमाउनु परेको उनले लेखेका छन्। खाना पकाएर परिवारलाई खुवाएकी ती महिलालाई जिउँदै आगोमा जलाएर मारिनु परेको घटना वर्णन गर्दै उनले यो अमानवीय घटनाले मनलाई चिराचिरा बनाएको जनाए।
उक्त घटनामा संलग्न जो कोही भए पनि राजनीतिक आवरण ओढेर उम्किन नपाओस् भन्ने अपेक्षा उनले व्यक्त गरेका छन्। साथै आफूलाई दाइ बिन्दु थापासँग जोडेर आरोप लगाइएकामा पनि उनले आपत्ति जनाएका छन्। उनका अनुसार बिन्दु थापा व्यवसायमै सफल भइसकेपछि मात्र राजनीतिमा प्रवेश गरेका हुन् र उनले कहिल्यै भ्रष्टाचारबाट कमाएको सम्पत्ति प्रयोग नगरेका हुन्। बरु सांसद तथा मन्त्री हुँदा पाएको तलब–भत्ता सामाजिक कार्यमै दान गर्दै आएको र आफ्नो सम्पत्ति पारदर्शी ढंगले सार्वजनिक गर्दै आएको उनले स्मरण गराए।
“हाम्रो परिवार पुर्खादेखि नै देश र समाज निर्माणमा योगदान गर्दै आएको हो। जनताको पैसा खाएर धनी बन्नुपर्ने आवश्यकता हामीलाई कहिल्यै परेको छैन,” थापाले लेखेका छन्।
पीडादायी अवस्थामै पनि आफू र परिवारलाई मनोबल दिन सहानुभूति र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै थापाले अझ सबल भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्