काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै संसद् विघटनतर्फ सावधान रहन आग्रह गरेका छन्।
शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विगतमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा दायर गर्ने र फैसला सुनाउनेहरूले अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बना भएको उल्लेख गरेका छन्।
“विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं,”उनले भनेका छन् ।
यसैबिच पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छन्। संसद् विघटनको तयारीसहित उनको पद तथा गोपनीयताको शपथ आज राति ९ बजे शीतलनिवासमा हुने कार्यक्रम तय भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ दिलाउनेछन्।
प्रतिक्रिया दिनुहोस्