चन्द्रागिरि नगरपालिकाका राजनीतिक दलहरूद्धारा आन्दोलनपश्चात हिंसा र आगजनीको घटनाप्रति निष्पक्ष छानबिनको माग


काठमाडाैँ । चन्द्रागिरि नगरपालिकामा सक्रिय राजनीतिक दलहरूले भाद्र २३ र २४ गते भएको जेन जेड युवा आन्दोलनका क्रममा सिर्जना भएका हिंसा र आगजनीको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयुक्त प्रेस वक्तव्य जारी गरेका छन्। वक्तव्यमा प्रदर्शनमा मृत्यु हुने युवाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

साथै, प्रदर्शनपछि देशभर फैलिएको आगजनी, तोडफोड, हिंसा र लुटपाटले सरकारी भवन, महत्वपूर्ण दस्तावेज र सार्वजनिक तथा निजी सम्पत्ति नष्ट भएको बताइएको छ। १३ हजारभन्दा बढी कैदीको जेलबाट रिहा भएपछि शान्ति सुरक्षामा थप चुनौती थपिएको उल्लेख गरिएको छ।

वक्तव्यमा दोषीहरूको पहिचान गरी कानुनअनुसार कारबाही हुनुपर्ने जोड दिइएको छ। राजनीतिक दलहरूले प्रधानमन्त्रीको राजीनामापछि आगामी राजनीतिक निकास संविधानअनुसार खोजिनुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन्। लामो संघर्ष र वीर शहीदहरूको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संकटमा पार्ने प्रयासप्रति सजग रहन नागरिक, कर्मचारी, पत्रकार र राजनीतिक दलहरूलाई सचेत रहन आह्वान गरिएको छ।

संयुक्त प्रेस वक्तव्यमा चन्द्रागिरि नगरपालिकाका प्रमुख राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरेका छन्, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी नयाँ शक्ति समावेश छन्। सबै दलहरूले आगामी दिनमा यस्ता कमजोरी नदोहरिनु र देशको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।