‘आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्नहरूमाथि छानबिन गरी कारबाही हुनुपर्छ’


काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जी आन्दोलनको मागअनुसार अन्तरिम स्वरुपको सरकार गठन हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले जेन जी आन्दोलनकै मुख्य कार्यादेशअनुसार आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी नयाँ सरकारलाई तोकिएको उल्लेख गरे ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा सरकार गठन भएकोमा बधाई दिँदै श्रेष्ठले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन, आन्दोलनमा भएको दमन, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्ने, शान्ति–सुरक्षा कायम गर्ने र संविधानको रक्षा गर्ने जिम्मेवारीमा सबैको सहयोग रहने बताए ।

तर, संसद विघटनको चर्चाबारे उनले गम्भीर आपत्ति जनाएका छन् । उनले भने, “हाम्रो संविधानले निर्वाचनबाट बनेको संसदलाई कुनै पनि बेला सरकारले सिफारिस गरेर विघटन गर्ने व्यवस्था गरेको छैन । आम निर्वाचनको मिति घोषणा भएपछि प्रतिनिधिसभा स्वतः निष्क्रिय हुन्छ, तर राष्ट्रिय सभा भने विघटन हुँदैन ।”

श्रेष्ठले असंवैधानिक ढंगले संसद विघटन गर्ने प्रयासले लोकतन्त्र नै संकटमा पार्न सक्ने भन्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई समयमै गम्भीर बन्न विशेष अनुरोध गरेका छन् ।