शेखर कोइरालाले भनेः युवाको चेतना र लोकतान्त्रिक मूल्यमा कांग्रेसले नयाँ युगको नेतृत्व गर्नुपर्छ


काठमाडाैँ । कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी र देशको भविष्यमा नयाँ दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्।

डा. कोइरालाले मुलुकमा उत्पन्न राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मुलुक नयाँ दिशातर्फ दौडिन खोजिरहेको छ र यसमा नयाँ प्रयोग देखिएको बताए । उनले जेनजी आन्दोलनको युवा ऊर्जा र चेतनाबाट सृजित नयाँ सरकारले आम नागरिकको भरोसा जितेर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले भाद्र २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी, सार्वजनिक सम्पत्तिको क्षति र व्यक्तिगत सम्मानमा पु¥याइएको नोक्सानीलाई स्वीकार्य नभएको बताए। विशेषगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका परिवारमाथि भएको आक्रमणलाई जघन्य अपराधको रूपमा निन्दा गरेका छन्।

डा. कोइरालाले पार्टीका अग्रजहरू विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका योगदानलाई स्मरण गर्दै भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्ने बताए। उनले भने, “हाम्रो प्रेरणा लोकतान्त्रिक समाजवादको दियो निभ्न नदिने नेताहरू र कार्यकर्ताहरूको बलिदान हो। हामीसँग पछुतोमा समय खर्च गर्ने अवसर छैन, अब प्रायश्चित गर्दै अघि बढ्नु जरूरी छ।”

उनले वर्तमानमा नेपाली समाजमा परिवर्तनको तीव्र चाहना रहेको उल्लेख गर्दै युवाहरूको भावना राष्ट्रिय भावनामा समाहित गर्दै शक्तिशाली राष्ट्र निर्माणमा कांग्रेस समर्पित हुनुपर्नेमा जोड दिए।

डा.कोइरालाले पार्टी भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्ने जिम्मेवारी सबै कांग्रेस कार्यकर्तामा रहेको उल्लेख गर्दै देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदमका लागि दशैंपछि सक्रिय हुने संकेत दिएका छन्।