काठमाडाैँ । स्याङ्जा जिल्लामा जारी निषेधाज्ञा हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) अनुसार भेला, जुलुस, सभा, बैठक तथा घेराउ निषेध गर्दै जारी गरिएको आदेशलाई भदौ २८ गते बिहान ६ बजेदेखि हटाइएको जनाएको छ।
हालसम्मको अवस्थाको मूल्याङ्कन गर्दा परिस्थिति सामान्य हुँदै गइरहेको ठहर गर्दै निषेधाज्ञा हटाइएको हो।
जिल्ला प्रशासन कार्यालयले शान्ति, सुव्यवस्था र पारस्परिक सद्भाव कायम गर्न सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ।
साथै, जनजीवनलाई सामान्यीकरण गर्ने, सार्वजनिक सेवा सुचारु गर्ने र बजार व्यवस्थापनलाई क्रमिक रूपमा चलायमान बनाउन सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ–संस्था, मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज र विभिन्न टोल समुदायलाई सक्रिय समन्वय र सहकार्य गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्