काठमाडौँ । देशभर जेन-जी युवाहरूको अगुवाइमा सुशासन, भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालको स्वतन्त्रता जस्ता विषय उठाउँदै सुरू भएको आन्दोलनमा राज्यपक्षबाट आवश्यक सुरक्षात्मक पूर्वतयारी र जोखिम आकलनमा कमी देखिनु दुर्भाग्यपूर्ण भएको शैक्षिक संघ–संस्थाहरूले ठहर गरेका छन्।
उनीहरूले आन्दोलनका क्रममा विद्यार्थी, युवा, प्रहरी र सर्वसाधारणले ज्यान गुमाउनु परेको र सयौं घाइते हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा खरबौंको क्षति पुग्नु देशका लागि ठूलो क्षति भएको बताएका छन्।
प्याब्सन,एनएमए, अपेन, हिसान, नेसनल प्याब्सन र लगायत शैक्षिक संघ–संस्थाका अध्यक्षहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका विद्यार्थी, सर्वसाधारण तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका उनीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति दिनु र घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग आग्रह गरेका छन्।
संयुक्त विज्ञप्तिमा आन्दोलनका कारण ऐतिहासिक धरोहर, सांस्कृतिक सम्पदा र निजी सम्पत्तिमा भएको तोडफोड र आगलागीलाई पीडादायी र दुर्भाग्यपूर्ण भन्दै शैक्षिक संघ–संस्थाहरूले यसबाट मुलुकले ठूलो मूल्य चुकाउनुपरेको बताएका छन्।
साथै, आन्दोलनमा घाइते तथा अभिभावक गुमाएका विद्यार्थीहरूको अध्ययन निरन्तरताका लागि आवश्यक छात्रवृत्तिको प्रबन्ध मिलाइने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्।
आन्दोलन र अस्थिरताका कारण बालबालिकाको नियमित पढाइ प्रभावित भएको स्वीकार्दै संघ–संस्थाहरूले भदौ २७ गते अन्तरिम सरकार गठन भइसकेको र स्थानीय प्रशासनले क्रमशः कर्फ्यू हटाउँदै लगेको अवस्थाले शैक्षिक वातावरण सुधार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
विज्ञप्तिमा सबै अभिभावक, शिक्षक, विद्यार्थी, नागरिक समाज र सरोकारवाला पक्षलाई संयमित रहन र शान्ति, स्थायित्व तथा विकासतर्फ देशलाई अघि बढाउन सकारात्मक योगदान दिन आह्वान गरिएको छ।
संघ–संस्थाहरूले परिस्थिति अनुकूल हुँदै गएअनुसार भदौ २९ गतेदेखि विद्यालयहरू क्रमशः सञ्चालनमा ल्याउन सकिने जानकारीसमेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्