काठमाडाैँ । गत भदौं २४ गते जेन जी आन्दोलनका कारण भएको आगजनीबाट निजी क्षेत्रको लगानी रहेको चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा अर्गनाइजेसन, भटभटेनी, एनसेल लगायतमाथि ठूलो क्षति पुग्यो । यतिबेला ठूलो नोक्शानी व्यहोरेको निजी क्षेत्र उठ्न कोशिस गर्दैछन् ।
अर्बपति विनोद चौधरीको रवि भवनको निजी निवासमा लुटपाट हुनुका साथै चौधरी समूहअन्तर्गत सतुन्गलको सिजीको फ्याक्ट्रीदेखि थापाथलीस्थित सीजी मोटर्सको सोरुम तथा गाडी अनि अन्य व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भयो ।
विनोद चौधरीका भाइ वसन्त चौधरी तथा अरुण चौधरीको पनि निवास एवं प्रतिष्ठानमा आक्रमण भए । थापाथलीको सुजुकी गाडीको सोरुममा तोडफोड भयो ।
सिजी समूह (चौधरी ग्रुप) का प्रवन्ध निर्देशक निर्वाण चौधरीले हालैको अराजक घटना इतिहासमै सबैभन्दा पीडादायी क्षण भएपनि विचलित नभएको भन्दै अब उठ्ने कोशिस भएको बताए ।
त्यस्तै, आईएमई समूहले सञ्चालन गर्दै आएको काठमाडौंको चन्द्रागिरी केबलकारको बेस स्टेसन अनि नवलपरासीको मौलाकालिका केबलकारसहितका ग्लोबल आईएमई बैंकका केही शाखा र व्यावसायिक इकाईमा आक्रमण हुँदा करोडौँ रूपैयाँ बराबरको संरचनामात्र नष्ट भएका छन् ।
आइएमई ग्रुप नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको हो । आफ्नो घरनालाई लक्षित गर्दै आक्रमण भएपछि ढकालले जेन–जी समूहको प्रदर्शनको क्रममा ठूलो क्षति भए पनि सम्हालिएर अगाडि बढ्नुको विकल्प नभएको बताउँछन्।
प्रदर्शनकारीको तोडफोड र आगजानीले उद्योग व्यवसाय जलेर खरानी भएपछि ढाडस दिँदै उनले नआत्तिन, नथाक्न र आजैबाट क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माणमा होमिन सबैमा आग्रह गरेका छन् ।
दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका निजी क्षेत्र आर्थिक मन्दीबाट तंग्रिने प्रयासमा रहेको बेला ठूलो क्षति पुगेको उनको भनाइ छ ।
थप लगानी गरी रोजगारी सिर्जनामा लाग्न ढकालको आह्वान छ । हरेक पटक आउने यस्ता चुनौतीलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिएर अगाडि बढ्नुपर्ने उनको तर्क छ ।
लोकतन्त्र अझ सुदृढ होस् र देश सकारात्मक दिशातर्फ अघि बढोस् भन्ने कामना गर्दै आफूहरू अझ सशक्त रूपमा रोजगारी सिर्जना गर्न तथा लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाएका छन् ।भाटभटेनीले आफ्नो सेवा क्षति नपुगेका संरचनाबाट थालिसकेको जनाएको छ भने अन्य धेरै व्यवसायीले समेत अब अघि बढ्ने प्रण गरेका छन् ।
सघाउँदै सरकार
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते निजी सम्पतिमाथि भएको आक्रमणप्रति दुःख मनाउ गर्दै सघाउने बताइन् ।
आज पदभार ग्रहणपछि सचिवहरूसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन्। उनले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताइन् । उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन्। साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्