आन्दोलनको प्रभावमा अटोमोबाइल उद्योग, नाडाले सरकारसँग गर्‍यो सहजीकरणको माग


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालै देशव्यापी आन्दोलन र प्रदर्शनका कारण मुलुकमा देखिएको अस्थिर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।

नाडाले आइतबार जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनुपर्ने पीडादायी घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित परिवारसँग समवेदना प्रकट गरिएको छ।

एसोसिएसनले अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ। “कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता बढेको छ। उपभोक्ता विश्वासमा नकारात्मक असर परेको छ र दीर्घकालीन रुपमा लगानी तथा रोजगारीमा पनि चुनौती थपिएको छ,”विज्ञप्तिमा भनिएको छ ।

नाडाले सरकारलाई व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गर्दै अटोमोबाइल क्षेत्रमा सामान्य अवस्था फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न आह्वान गरेको छ।

एसोसिएसनले आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै, जिम्मेवार नेतृत्व, सकारात्मक संवाद र एकताबद्ध प्रयासमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको सन्दर्भमा नाडाले शुभकामना प्रकट गर्दै छिट्टै मन्त्रिपरिषद् गठन भई आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्न सरकारले लिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरेको छ।