काठमाडौँ । पछिल्लो आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट गम्भीर क्षति पुगेको दूरसञ्चार कम्पनी एनसेलले सेवा निरन्तरताप्रति आफ्नो अडान स्पष्ट पारेको छ ।
कम्पनीले आफ्नो काठमाडौंस्थित ‘एनसेल आइकम’ मुख्यालयसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा भएको क्षतिको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।
एनसेलका अनुसार यी घटनाले भौतिक संरचना मात्र नभई कर्मचारीको सुरक्षा र सेवा प्रवाहमा पनि ठूलो जोखिम उत्पन्न भएको थियो तर पनि कम्पनीले तीन दिनसम्म निःशुल्क स्थानीय भ्वाइस कल, एसएमएस र इन्टरनेट उपलब्ध गराएर सेवाको सहज पहुँच सुनिश्चित गरेको जनाएको छ ।
“हामी २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा दिँदै आएका छौं । हाम्रो प्रतिबद्धता अझै अडिग छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय सुरु भएको अवसरमा कम्पनीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको छ ।
युवाहरूको अगुवाइमा भएको आन्दोलनबाट आएको परिवर्तनलाई स्वागत गर्दै कम्पनीले शान्ति, एकता र समृद्धिको सामूहिक आशा व्यक्त गरेको छ ।
एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति दिने र डिजिटल नेपाल निर्माणमा योगदान गर्दै आएको स्मरण गर्दै आगामी दिनमा अझ दृढ संकल्पसहित देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
विज्ञप्तिको अन्त्यमा कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्