‘हामी नेपाल’ संस्थासँग कोरोना महामारीमा बाहेक कुनै सहकार्य छैन : इन्फिनिटी होल्डिङ्स र शङ्कर ग्रुप


काठमाडौँ । इन्फिनिटी होल्डिङ्स र शङ्कर ग्रुपले ‘हामी नेपाल’ र जेनजीका अगुवा सुदन गुरुङ्सँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ ।

इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शङ्कर ग्रुपका सञ्चालक साहिल अग्रवालले कोभिड महामारीको समयमा मात्रै ‘हामी नेपाल’ र जेनजीका अगुवा सुदन गुरुङ्सँग सहकार्य गरेको स्पष्ट पारेका छन् ।

भट्ट र अग्रवालले कोरोना प्रभावित नेपालीहरूलाई सहयोग गर्न हामी नेपाल नामक संस्थालाई छनौट गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनेका छन्,“ त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौँ ।”

केही दिनयता जेन जेडका अगुवा सुदन गुरुङसँग आफूहरूलाई जोडेर विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका समाचार भ्रामक र काल्पनिक भएको उल्लेख गर्दै समाचार सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नु पर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेका थियौं । त्यस क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौँ, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ ।”

कोरोना महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको अध्यक्ष भट्ट र सञ्चालक अग्रवालले स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“हामीले उक्त सहयोग पारदर्शीरुपमा सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तरगत गरेका थियौँ र त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस वक्तव्यमार्फत् जानकारी गराएका थियौँ । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरू प्रयोग गरेको रहेछ ।”

भट्ट र अग्रवालले त्यसयता सुदन गुरुङ र उनको संस्थासँग आफूहरूले कुनै पनि सहकार्य नगरेको स्पष्ट गर्दै उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग कुनै सरोकार र सम्बन्ध नरहेको प्रष्टिकरण दिएका छन् ।

यस आन्दोलनका क्रममा उक्त समूहले प्रवर्धन गरेको होटल हिल्टन समेत ध्वस्त भएको थियो ।

विज्ञप्तिमा भनिएको छ,“प्रत्यक्ष रूपमा हामी लगानीकर्ता भए पनि यसमा आम नेपाल र नेपालीजनको गौरव जोडिएको हामीले महसुस गरेका थियौँ । यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो ।”