काठमाडाैँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
सोमवार सिंहदरबारमा सम्बन्धित मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै उनले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिवद्ध रहेको समेत बताएका हुन्।
उनले जेनजी पुस्ताले अपनाएको हिंस्रक बाटो छोडेर समाधानतर्फ लाग्नुपर्नेमा समेत जोड दिए। उनले विगतका कमजोरीलाई नदोहो¥याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्न समेत सबैलाई आग्रह गरे ।
“अब हिंसा होइन समाधान हाम्रो बाटो हो । हामीले जे गर्यौं त्यसलाई अब रोकौं । अब हामीले पुनः निर्माणतिर लाग्नुपर्ने हुन्छ । देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेछ । राजनीतिक स्थिरता पनि ल्याउनुपर्नेछ । देश रहेमात्र हामी रहन्छौं । उडेर मात्रै हुँदैन अब सही अवतरण गर्नुपनि हाम्रो दायित्व हुनेछ । जिम्मेवारी लिने हो भाग्ने होइन,” उनले भने ।
यसअघि पदभार सम्हाल्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरे । उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वक्यौता असुल्ने प्रयास गरेका थिए । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्