काठमाडौँ । काठमाडौँको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा भदौ २४ गते जेनजी प्रदर्शन र आन्दोलनको नाममा विभिन्न अपराधी समूहले तोडफोड, आगजनी र डकैती गरेको घटनापछि कम्पनीले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाडौँमा उजुरी दर्ता गराएको छ।
उजुरीमा अपराधीहरूले आन्दोलनको बहानामा समूह बनाएर कम्पनीका सुरक्षाकर्मीलाई धम्की दिई थुनी राखेका, भवनमा प्रवेश गरी प्रत्येक तलामा कार्यालयमा प्रयोग हुने उपकरण र सामग्री तोडफोड गरेका, कार्यालयका महत्त्वपूर्ण कागजात जलाएका वा डकैती गरेका र नगद तथा सेफसमेत लुटेको उल्लेख छ।
कम्पनीले आफ्नो कार्यालयको दशवटा तलामा रहेका कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन जस्ता बहुमुल्य उपकरण तथा कर्मचारीका व्यक्तिगत सामान, ल्यापटप, गहनासमेत डकैती भएको जनाएको छ।
साथै, बैठक हलको टिभी, मोनिटर र फिटनेस उपकरणहरूमा आगजनी गरिएको र कम्पनी तथा भाडामा लिएका महंगा मोटरगाडीहरू जलाइएको उजुरीमा उल्लेख गरिएको छ।
एनसेलले घटनामा भएको आर्थिक र भौतिक नोक्सानीको विवरण प्रहरीलाई उपलब्ध गराएको छ। घटनाक्रम कैद भएका सबै सीसीटीभी फुटेज पनि अनुसन्धानमा सहयोगका लागि प्रहरीलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्