काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा परेको जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको छ। आयोगले सोमबार दोस्रोपटक सार्वजनिक सूचना जारी गर्दै बाँकी रहेका सामान तुरुन्तै बुझाउन सम्बद्ध पक्षलाई अनुरोध गरेको हो।
भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहत कार्यालयका विभिन्न जिन्सी सामग्री तोडफोड तथा लुटपाट भएको र त्यसमा संलग्न व्यक्तिहरू सिसिटिभी फुटेजमार्फत पहिचान भइरहेको आयोगले जनाएको छ।
यसअघि २०८२ भदौ ३० गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित भएपछि केही सामान फिर्ता हुने क्रम सुरू भएको आयोगको भनाइ छ।
आयोगका अनुसार बाँकी सामानहरू काठमाडौँ उपत्यकाको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टंगालस्थित कार्यालयमा बुझाउन सकिनेछ। यस्तै मातहत कार्यालयबाट लिइएका सामान सम्बन्धित कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आयोगले आग्रह गरेको छ। आयोगले सामान फिर्ता नगरे कानूनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्