प्रधानमन्त्रीलाई सन्दुक रुइतले भनेः म मन्त्री बन्दिनँ


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन् । तर, डा. रुइतले अस्पताल र बिरामीलाई छाडेर सरकारमा जान नसक्ने भन्दै स्पष्ट जवाफ दिएका छन् ।

मंगलबार प्रधानमन्त्री कार्की तिलगंगा आँखा प्रतिष्ठान पुगेकी थिइन् । त्यहाँ उनले डा. रुइतसँग अन्तरिम सरकारमा मन्त्रीका रूपमा सहभागी हुनुपर्ने प्रस्ताव राखेकी थिइन् ।

कार्कीले विशेष परिस्थितिमा आफू सरकारको नेतृत्वमा आउनुपरेको भन्दै सहयोग गर्न आग्रह गरेकी थिइन् तर रुइतले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गर्ने बताए पनि आफू सरकारमा सहभागी हुने अवस्थामा नरहेको स्पष्ट पारे । उनले भने, “यहाँ छोडेर आउने ? यत्रो छ काम यहाँ छोडेर आउने ? बिरामीलाई छाडेर आउँदैन ।”

जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तारमा डा. रुइतलाई समेट्ने चर्चा चलेको थियो तर उनले लगातार चिकित्सकीय पेसामार्फत नागरिकलाई सेवा गर्ने अडान दोहोर्‍याउँदै सरकारमा जाने सम्भावनालाई अस्वीकार गरेका हुन् । रुइतले अस्पतालमा आफ्नो जिम्मेवारी ठूलो रहेको भन्दै स्वास्थ्य सेवा नै नागरिकप्रतिको आफ्नो मुख्य योगदान हुने बताए ।