स्वतन्त्र ऊर्जा उत्पादकहरूको कुम्भ मेला मानिने पावर समिट स्थगित, नयाँ मिति पछि तय गरिने


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको कुम्भ मेला मानिने पावर समिट स्थगित भएको छ ।

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक घटनाक्रमपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पावर समिट स्थगित गरेको हो ।

इप्पानले आगामी असोज २९ र ३० गते काठमाडौँमा ‘नवौँ पावर समिट, २०२५’ आयोजना गर्ने तयारी गरेको थियो ।

इप्पानका अध्यक्ष गणेश कार्की र पावर समिट कमिटीका संयोजक आनन्द चौधरैले जारी गरेको विज्ञप्तिमा भनिएको छ,,“नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको कारणले स्थगित गरेका छौँ । हालसम्म पावर समिटका लागि सहायता गरिसक्नुभएका, गर्न तयार हुनुभएका र सहभागिता जनाउन लाग्नुभएकोमा धन्यवाद दिँदै पावर समिटको नयाँ मिति घोषणा गरेपछि पनि सो सहायताको निरन्तरताको कामना गर्दछौँ ।”

इप्पानले नयाँ मिति घोषणा गर्ने समेत जनाएको छ । पावर समिटमा ३० देशका ऊर्जा व्यवसायीको सहभागिता रहने गरी तयारी थियो ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि सरकार फेरिएको छ भने फागुन २१ गते चुनावको मिति घोषणा भएको छ । यससँगै इप्पानले पावर समिट स्थगित गरेको हो ।