काठमाडौँ । नेकपा एमाले नेता सूर्य थापाले बदलिँदो परिस्थितिमा नेतृत्वले प्रयाप्त आन्तरिक बहस गरेर अगाडि बढ्नु पर्ने सुझाएका छन् ।
पार्टीका उच्च नेतृत्वले सरसल्लाह नगरी आफ्नो तरिकाले धारणाहरु सार्वजनिक गरिरहँदा थापाले सचेत बनाएका हुन् ।
सामाजिक संजालमा लेखेका छन्, “जुनसुकै बेलाका बहस छलफल सही रूपमा र आमनेसामने बसेर तर्कसम्मत रूपमा गर्न सक्नुपर्छ र गर्नुपर्छ।तर बाह्य संकटको सामना आन्तरिक एकता सुदृढ गरेर मात्रै गर्न संभव हुन्छ।”
जेनजी विद्रोहपछिको बदलिँदो परिस्थितिलाई समीक्षा नगरी पुरानै नेतृत्व हावी हुन थालेपछि थापाले युवा, प्रौढ र पाको पुस्ताको कुशल संयोजनबाट मात्रै पार्टी नेतृत्व निर्माण हुने धारणा सार्वजनिक गरेका हुन् ।
थापाले भने, “मुख्य नेतृत्व त झन् उच्चस्तरको विवेक, स्वीकार्यता र संस्थागत प्रबन्धले मात्र निर्माण गरिन्छ। कुनै प्रकारको आग्रह, पूर्वाग्रह र कुण्ठा प्रदर्शन नेतृत्व निर्माणको मानक र आधार हुन सक्दैन।”
यतिबेला भदौ २३, २४ र २५ गते तथा त्यसयताको समग्र परिस्थितिको सही विश्लेषण गरी निष्कर्षमा पुग्नमा विद्यमान नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
थापाले लेखेका छन्, “कन्स्पिरेसी कसरी भयो र हामी कहाँ चुक्यौं ? आजको खास प्रश्न यो हो । हेक्का रहोस्, जोकसैले अरूतिर एक ओैंला तेर्साउँदा बाँकी चार ओैंला त आफैतिर तेर्सिरहेका हुन्छन्।”
नेतृत्व आन्तरिक छलफल, बहस, समझदारी र संस्थागत निर्णयले मात्र निरूपण गर्नेमा जोड दिएका उनले अन्य बाह्य बहकाउमा लाग्न आवश्यक नभएको जनाएका छन् ।
थापाले भनेका छन्, “दोस्रो विधान महाधिवेशनले भर्खरै संस्थागत निरूपण गरेको छ र ११ओैं राष्ट्रिय महाधिवेशन उपयुक्त समयमा आयोजना गरेर समग्रतामा छलफल, विश्लेषण र निष्कर्ष निकाल्ने काम हुने नै छ।”

प्रतिक्रिया दिनुहोस्