काठमाडाैँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनकारीले गरेको तोडफोड र ढुंगामुढाका कारण आगलागी नियन्त्रणमा तत्काल चुनौती आएको बताएका छन् ।
बिहीबार वागदरबारमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले २४ गते साँझ बौद्धबाट दमकल पठाउने प्रयास गरिएको तर चाबहिलमा पुग्दा आन्दोलनकारीले ढुंगामुढा गरेकाले दमकल अघि बढ्न नसकेको बताएका हुन्।
उनका अनुसार दमकल पठाउन ढिलाइ भएको भन्ने जनगुनासो उठे पनि आन्दोलनकारीले आक्रमण गरेकाले समयमै दमकल सञ्चालन गर्न नसकिएको हो। सो क्रममा नेपाली सेनाको सवारी साधनमाथि समेत ढुंगामुढा भएको उनले जानकारी दिए।
उनले राति सवा ८ बजेदेखि पौने १० बजेसम्म सिंहदरबारमा दुई वटा दमकल परिचालन गरी आगो निभाइएको र त्यसपछि नेपाली सेनाले सुरक्षा लिएपछि थप स्थानमा दमकल परिचालन सहज बनेको उल्लेख गरे। पाण्डेका अनुसार भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत र सिंहदरबार क्षेत्रमा पटक–पटक दमकल खटाइएको थियाे ।
“हामी कुनै हालतमा ढिलाइ गरेका छैनौं,” उनले भने,”दमकल जानसक्ने अवस्था भएपछि मात्रै पठाइएको हो। सुरक्षाको प्रत्याभूतिका आधारमा दमकल परिचालन गरिएको हो ।”
पाण्डेले घाइतेको उपचारदेखि खानपान व्यवस्थासम्म महानगर प्रहरीले खटिएको दाबी गरे। हाल उपत्यकामा महानगरले पाँच वटा दमकल परिचालन गरिरहेको जानकारी पनि उनले दिए।
प्रतिक्रिया दिनुहोस्