जेन जी पुस्ताले आन्दोलन सत्ता प्राप्तिका लागि होइन भन्ने मानक स्थापित गरिदिएः पुरञ्जन आचार्य


काठमाडाैँ । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जेन जी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले जेन जी आन्दोलन भविष्यउन्मुख रहेको बताएका हुन् । भ्रष्टाचार र बेथितिका विरुद्धमा आवाज उठाउँदा ज्यान गुमाउनुपरेको र बिना स्वार्थ त्याग गरेर राज्य सत्ता अर्को पुस्तालाई सुम्पिनु सुझबुझपूर्ण निर्णय भएको उनकाे भनाइ छ ।

उनले नेपालको इतिहासमा आन्दोलनकारी सत्तामा जान लुछाचुँडी गरेको देखिएको भएपनि जेन जीले आफू सत्तामा रहनका लागि अनुभवबिहीन रहेकाले अनुभव भएका व्यक्तिहरुलाई सत्तामा राख्नु महत्वपूर्ण रहेको जिकिर गरे । आन्दोलन सत्ता प्राप्तिका लागि भन्ने भाष्यलाई चिरेर जेन जी पुस्ताले उदाहरण प्रश्तुत गरेको उनको ठम्याइ छ ।

जेन जी पुस्ताले आफूहरु आन्दोलन गर्न सक्षम रहेको, सत्ता परिवर्तन गर्न सक्षम रहेको तर सत्ता सञ्चालन गर्न परिपक्व नभएको बुझेको उनले बताए । 

उनले नेपालको अहिलेसम्मको पुस्ताले नबुझेको समस्या जेन जी पुस्ताले बुझेकोमा खुशी व्यक्त गरे । आचार्यले ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताए ।

ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको उनले बताए ।

उनले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरु असफल भएको प्रमाण रहेको जिकिर गरे । काँग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरुले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको उनकाे भनाइ छ ।

आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शिर्ष नेताहरु राजकाज चलाउन असफल भएको स्पष्ट हुने उनले बताए । जेन जी आन्दोलन शिर्ष नेताहरुको नेतृत्वको असफलतामै टेकेर भएको उनले उल्लेख गरे । उनले पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसक्नुभएको बताए ।