जेनजी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धुलो हेरेर निराश हुने छुट नरहेको भन्दै धुलो टक्टक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन् ।

संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको बताए । सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नु रहेको बताए ।

२३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निश्पक्ष र उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरे। जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्वोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको जिकिर गरे । 

जेन–जी आन्दोलनको बलमा संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भएपनि त्यस अवसरबाट जेन जी चुकेको बताए ।

उनले जेन–जी आन्दोलनको उपलब्धि  केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित भएको बताए । शासकीय स्वरुप बदल्ने र इतिहास रच्ने मौका गुमेको उनको भनाइ छ । 

अध्यक्ष दाहालले देश र जनताविरुद्धका षड्यन्त्र अझै नसकिएको भन्दै अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरू भइसकेको दाबी गरे । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुनसक्ने आशंका व्यक्त गरे ।

घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने आफूले चाहेको बताए । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएको जिकिर गरे । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले इतिहासको चिहानमा मिल्काइएकाहरूले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउने प्रयास भइरहेको टिप्पणी गरे । 

अध्यक्ष दाहालले आन्दोलनका क्रममा भएको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनी विध्वंश जेन जीको काम नभएको बताए । प्रतिगमनकारी र अपराधितत्वहरूको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार भएको बताए ।

देश अहिले इतिहासकै गम्भीर संकटमा परेको उल्लेख गर्दै आफ्नो विवेक सौर्य र वलिदानका कृतिमानबाट हाम्रा पुर्खाहरूले बचाएको नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भिर प्रश्न खडा भएको बताए ।