काठमाडौँ । राजधानीमा सार्वजनिक यातायातमा यात्रुहरूले दैनिक रूपमा भुक्तानी गर्दा चानचुन पैसाको अभावले ठूलो रकम व्यवसायीले असुलिरहेको भन्दै तत्काल डिजिटल कार्ड प्रणाली लागू गर्नुपर्ने आवाज उठेको छ । यातायात विज्ञ आशिष गजुरेलका अनुसार काठमाडौँमा मात्र दैनिक करिब २० लाख ट्रिप हुने सार्वजनिक यातायातमा आधा यात्रुले एक रुपैयाँ बढी तिर्नुपरे पनि कम्तीमा १० लाख रुपैयाँ यात्रुबाट अनावश्यक रूपमा उठाइन्छ ।
उनका अनुसार सार्वजनिक यातायात नाफामुखी व्यवसाय नभए पनि नेपालमा पूर्णतया निजी क्षेत्रलाई जिम्मा लगाइएका कारण यात्रुहरू निरन्तर घाटामा छन् । “१९, २३ वा ३३ रुपैयाँ जस्ता भाडा तिर्दा यात्रुसँग चानचुन हुँदैन, न त गाडीवालासँग हुन्छ,” गजुरेलले भने, “यो समस्याको स्थायी समाधान भनेकै डिजिटल कार्ड सिस्टम हो ।”
ठूला व्यवसायीले दैनिक कारोबारमा चानचुनको व्यवस्था गरेर कारोबार गर्ने गरेको उल्लेख गर्दै उनले सार्वजनिक यातायात व्यवसायीले पनि त्यस्तो व्यवस्था गर्न सक्ने भए पनि इरादाकै कारण नगरेको बताए । “यो यात्रु ठग्ने प्रवृत्ति हो,” उनले भने, “यदि व्यवसायीले चाह्यो भने हरेक दिन हजारौं रुपैयाँ साटेर राख्न गाह्रो हुँदैन ।”
गजुरेलका अनुसार डिजिटल कार्ड प्रणाली मोबाइल कार्डजस्तै सहज हुन्छ । यात्रुले प्रिपेड कार्ड बोकेर हरेक गाडीमा राखिने डिभाइसमा ट्याक गर्नुपर्ने हुन्छ । यसरी यात्रुहरूले सहजै भाडा तिर्ने र गाडीवालाले सिधै रकम पाउने हुँदा विवाद रहँदैन ।
उनले तत्काल साझा यातायातमा डिजिटल कार्ड प्रणाली लागू गरेर सफल बनाउने,त्यसपछि छ महिनाभित्र निजी सञ्चालकहरूलाई पनि अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएका छन् ।
“डिजिटल भुक्तानीको अर्को विकल्प छैन,” गजुरेलले भने, “अब यात्रुलाई ठग्ने परिपाटी अन्त्य गर्न यही बाटो अपनाउनु अपरिहार्य छ ।”
प्रतिक्रिया दिनुहोस्