संविधानले विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकतामा बाँधेको छः राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने दिशामा सबै नेपालीलाई एकजुट गराउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना स्पष्ट पारे ।

उनले संविधानले प्रत्याभूत गरेका सेवा–सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नु र सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु राज्यको दायित्व भएकोमा जोड दिए ।

“संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न हामी सबैले मन, वचन र कर्मले इमान्दार र प्रभावकारी प्रयास गर्नुपर्छ,” भन्दै राष्ट्रपति पौडेलले सबैलाई आफ्नो-आफ्नो स्थानबाट योगदान दिन आह्वान गरे ।

देशको सांस्कृतिक सम्पदा र प्राकृतिक स्रोतसाधनलाई रोजगारी र आम्दानीको असीमित सम्भावनाको ढोका भन्दै उनले विशेषगरी जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन सुशासनमार्फत गर्न सकिए नेपाल छिट्टै समुन्नत राष्ट्र बन्न सक्ने विश्वास प्रकट गरे ।

हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचना तथा बहुजाति, बहुभाषी र बहुसंस्कृतिलाई संविधानले समान संरक्षण प्रदान गरेको स्मरण गर्दै उनले नेपालीबीचको आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वलाई कुनैपनि कारणले क्षति नपुग्ने अपेक्षा गरे।

विसं २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवद्वारा संविधानसभाबाट पारित नेपालको संविधान घोषणा गरिएको थियो। यसै ऐतिहासिक दिनको स्मरणमा संविधान दिवस (राष्ट्रिय दिवस) हरेक वर्ष असोज ३ गते मनाइँदै आएको छ।

संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ बलिदान दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।

साथै उनले विभिन्न आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दलका नेताहरू, लोकतान्त्रिक आन्दोलनमा सहभागी आम नागरिक र राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा गर्दै सम्मान प्रकट गरे।