काठमाडाैँ । मधेस प्रदेश सरकारले संविधान र संघीयताको रक्षा अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएको छ ।
संविधान दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलगायत नेताहरूले संविधानको कार्यान्वयन र संरक्षण सबैको साझा दायित्व भएको धारणा राखे ।
जेनजी आन्दोलनपछि संविधान मिच्ने र संघीयता खारेज गर्ने चलखेल भएको भन्दै उनीहरूले यस्तो कार्य कदापी स्वीकार्य नहुने बताए । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शहीदहरूको बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई जोगाउन सबै पक्ष उत्तरदायी बन्नुपर्नेमा जोड दिए।
उनले जेनेजी आन्दोलनको नाममा मुलुकको संरचना ध्वस्त पार्ने र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
उनले जेन जी पुस्ताका मागहरुलाई सम्बोधन गर्दै मुलुकलाई आर्थिक र सामाजिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिए । भण्डारीले लामो संघर्षपछि बनेको संविधानलाई जनताको साझा दस्तावेज भन्दै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत मौलिक हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह पनि गरे।
“यो संविधन निर्माणको क्रममा निरन्तर लागिरहने नेपालका राजनीतिक दलहरू योगदानलाई समेत सम्मान व्यक्त गर्न चाहान्छु । लामो संघर्ष र प्रयासबाट निर्माण गरिएको नेपाली जनताको साझा दस्तावेजको रुपमा रहेको नेपालको संविधानलाई मानिएको छ । संविधानमा केन्द्रिकृत शासन व्यवस्थाको अन्त्य गरी तीन तहको शासन व्यवस्थाको परिकल्पना गरेको छ,” उनले भने ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान र संघीयताको रक्षा गर्नकै लागि आफूले राजीनामा नदिएको स्पष्ट पारे ।
उनले २३ भदौमा विकसित घटनाक्रमका कारण आफूले राजीनामा दिने घोषण गरेको भएपनि यस्तो परिस्थितिमा जिम्मेवारीबाट भाग्न नहुने बताए । आन्दोलनपश्चात सामाजिक सञ्जालमार्फत राजीनामाको संकेत दिएपनि संघीयता र संविधानको रक्षाकै लागि आफूले राजीनामा नदिएको बताए ।
उनले जेन जी आन्दोलनको नाममा मुलुकको ऐतिहासिक संरचना ध्वस्त पार्ने तथा लुटपाटमा संलग्नहरूलाई खोजेर कानूनी दायरामा ल्याउनु आवश्यक रहेको पनि बताए ।
“मैले भदौ २३ गतेको आन्दोलन पश्चात आफ्नो ज्यानभन्दा ठूलो यो पद होइन भन्दै राजीनामा दिने भनेर फेसबुकमा लेखेको थिएँ । सार्वजनिक सम्पती मेरो नाउको सम्पती होइन । सबै कुराको सुरक्षाको लागि त्यो दिन मैले राजीनामा दिन्छु भनेर फेसबुकमा पोस्ट हालेँ । अहिलेको परिस्थितिमा राष्ट्रपतिज्यूले राजीनामा नदिएकै कारण यो संविधान बचेको छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्