काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्र निर्माणको महाअभियानमा सबै नेपालीलाई संलग्न हुन आह्वान गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण मुलुकभरका धेरै भौतिक संरचना क्षतिग्रस्त भएको स्मरण गराउँदै मन्त्री घिसिङले पुनर्निर्माणलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताएका हुन् ।
शुक्रवार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको कार्यालयमा आयोजित श्रमदान कार्यक्रममा सहभागी हुँदै उनले करिब डेढ खर्ब रुपैयाँभन्दा बढी मूल्यका संरचना नष्ट भएकाले त्यसलाई श्रमदान र आर्थिक सहयोग जुटाएर आफ्नै बलबुतामा पुनःनिर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने “काठमाडौँबाट मात्र नभई देशैभर करिब ३ सय घर, प्रहरीसहितका सुरक्षा निकायका कार्यालय र हजारौँ सवारीसाधन ध्वस्त भएका छन् । अहिलेको पहिलो काम भनेको सरसफाइ गरेर प्रयोगमा ल्याउन सकिने संरचनाको व्यवस्थापन गर्नु हो, त्यसपछि पुनर्निर्माणका कामलाई गति दिनुपर्छ । छोटो समयमा सकिने कार्यलाई १–२ महिनामै सम्पन्न गर्ने र दीर्घकालीन संरचनाको पुनर्निर्माण कार्यलाई पनि अघि बढाइसकेका छौँ ।”
मन्त्री घिसिङले सरकारले पुनर्निर्माणका लागि छुट्टै कोष स्थापना गरिसकेको जानकारी दिँदै स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीलाई आफ्नो इच्छाअनुसार योगदान गर्न आग्रह गरे । उनले विदेशमा रहेका नेपालीको भोटिङ अधिकार, नागरिकता र भिसा सम्बन्धी विषयमा समेत सरकारले सम्बोधन गर्ने तयारी गरिरहेको जानकारी दिए।
“यो केवल पुनर्निर्माण मात्र होइन, पुनर्जागरणको अभियान हो । अब विध्वंशतिर होइन, निर्माणतिर लाग्नुपर्छ । सबै नेपाली एकजुट भएर अघि बढौँ,” मन्त्री घिसिङले भने ।
उनले ध्वस्त भएका संरचनाको व्यवस्थापनलाई तत्काल गतिशील बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्