मुलुक सङ्कटकाे बेला नेपाल पुनर्बिमा कम्पनीका कर्मचारी आन्दोलनमा,दाबी भुक्तानी अवरुद्ध हुनसक्ने


काठमाडौँ । मुलुक सङ्कटको अवस्थामा र ठूला दाबी भुक्तानी गर्नुपर्ने समयमा नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) का कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले कम्पनीलाई नै बदनाम गर्ने शैलीमा बोर्ड व्यवस्थापनको राजीनामा गराएर भुक्तानी प्रक्रियामा अवरुद्ध पार्ने प्रयास गरेको आरोप लागेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा सबैभन्दा ठुलो क्षतिको भार नेपाल रिमा परेको छ । नीजि उद्योगधन्दामा समेत ठुलो नोक्सान भएको छ । नेपालमा अहिले नेपाल रि र हिमालयन रि गरी दुई पुनर्बिमा कम्पनी छन् ।

बिमा कम्पनीहरूले अनिवार्य रूपमा ४/४ प्रतिशत जोखिम पुनर्बिमा गर्नुपर्ने व्यवस्था छ भने बाँकी जोखिम अन्तर्राष्ट्रिय बजारमा हस्तान्तरण गरिन्छ ।

पुनर्बिमा बापतको रकम भुक्तानी गरेर उद्योगी–व्यवसायीको मनोबल उकास्ने बेला कर्मचारी सङ्गठन हुलहुज्जतमा उत्रिएको हो । कर्मचारीले कम्पनी घाटामा पर्ने गरी व्यापार बाँडेको भन्दै विरोध गरिरहेका हुन् ।

अहिलेको संवेदनशील अवस्थामा गलत मनासयका साथ केही कर्मचारी विरोधमा लागेको आरोप भित्रैका कर्मचारीले लगाएका छन् ।

कम्पनीका एक कर्मचारीले भने, “नेपाल रिले अहिले संवेदनशील भएर काम गर्नुपर्ने र मुलुकको हितमा काम गर्नुपर्ने बेला कर्मचारी संगठनले उल्टो काम गरेर कम्पनीलाई बदनाम गरिरहेको छ । यसले कम्पनीलाई कसरी फाइदा गर्छ ?” केही कर्मचारीको आकलन अनुसार यसले कम्पनीलाई आगामी दिनमा ठुलो नोक्सान पुर्‍याउन सक्छ ।

तर कम्पनीका एक अधिकारीले बाहिर जस्तो वातावरण भएपनि कम्पनीको कुनैपनि कर्मचारी संरचना हेरफेर नभएको कारणले गर्दा भुक्तानीमा बाहिर आएजस्तो समस्या नहुने दाबी गरे ।

ती अधिकारीले भने,“कम्पनीको स्टक्चरमा कुनै परिवर्तन आएको छैन् । त्यसैले हामीले भुक्तानी गर्न सक्छौँ ।’’

हालसम्म कम्पनीका दुईजना सञ्चालकले राजीनामा दिइसकेका छन् भने सिइओलाई समेत राजीनामा दिन कर्मचारी सङ्गठनले दबाब दिएका छन् ।

यसरी बोर्ड तहमै अस्थिरता सिर्जना हुँदा जेनजी आन्दोलनबाट भएको क्षतिको पुनर्बिमा वापतको रकम समयमा भुक्तानी हुन नसक्ने अवस्था देखिएको छ ।

विगतमा हुलदंगा तथा आतंकवादजन्य जोखिमको पुनर्बिमा व्यवसाय उचित ढंगले बाँडफाँट नगरिएकाले यसको प्रमुख आर्थिक भार अहिले नेपाल रि माथि परेको छ ।

निजी क्षेत्रको हिमालयन रि–इन्स्योरेन्स भने यसबाट मुक्त छ । अर्थ मन्त्रालय र नेपाल बिमा प्राधिकरणले यस्तो जोखिम केवल नेपाल रिमै तोक्दा ठुला व्यावसायिक प्रतिष्ठानहरू जस्तै हिल्टन होटेल, भाटभटेनी सुपरमार्केटबाट आउने अर्बौँ रुपैयाँ बराबरको दाबी नेपाल रिले नै व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको हो।

सामान्यतया बिमा कम्पनीहरूले ३५ प्रतिशत जोखिम आफूसँग राखेर बाँकी ६५ प्रतिशत पुनर्बिमा कम्पनीलाई हस्तान्तरण गर्छन्। तर हुलदंगा तथा आतंकवाद जोखिममा नेपाल रिलाई मात्रै जिम्मेवारी दिइएको छ।

उदाहरणका लागि कुनै पोलिसीमा १० करोड रुपैयाँसम्मको दाबी आएमा ६५ प्रतिशत नेपाल रिले तिर्नुपर्छ भने १० करोडभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम नेपाल रिले व्यहोर्नुपर्छ।

यस नीतिका कारण ठुलो दाबी परेमा नेपाल रिलाई ठुला वित्तीय चुनौती सामना गर्नुपर्ने छ। करिब ३५ अर्ब रुपैयाँ बराबरको सम्भावित दाबीमध्ये नेपाल रिलाई झन्डै २३ अर्ब ५० करोड रुपैयाँको दायित्व पर्ने अनुमान गरिएको छ । कम दाबी परेमा तोकिएको अनुपातमा रकम घट्छ तर बढी परेमा बढ्नेछ ।

यसअन्तर्गत नेपाल रिले ६ अर्ब रुपैयाँ मात्रै विदेशी पुनर्बिमा कम्पनीमा ‘क्याटसटोपिक रेट्रोसेसन’ गरेको छ जसबाट बढीमा तीन अर्ब रुपैयाँ मात्र आउन सक्ने अनुमान छ ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८२ भदौ ३१ गतेसम्म १४ निर्जीवन र ४ लघु निर्जीवन बिमा कम्पनीमा कुल १ हजार ९८४ ओटा दाबी दर्ता भएका छन् । ती दाबीको मूल्य २० अर्ब ७० करोड ३८ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

हुलदंगा र आतंकवादबीमा जोखिम व्यवस्थापनका लागि विसं २०६०÷६१ मा आकस्मिक बिमा कोष स्थापना गरिएको थियो। पाँच–पाँच करोड रुपैयाँ सरकार र बिमा कम्पनीहरूले लगानी गरेर १० करोड पुँजीमा कोष गठन गरिएको थियो। समयसँगै देशमा आन्दोलन र द्वन्द्व कम भएपछि कोष नाफामा जान थाल्यो ।

२०७१ कात्तिकमा सरकारको नीतिअनुसार यसलाई पुनर्बिमा कम्पनीमा रूपान्तरण गरियो र पछि विदेशी पुनर्बिमा कम्पनीले पनि हुलदंगा जोखिम लिन चाहेको भए पनि नेपाली बिमा कम्पनीहरूले सहमति जनाएनन्।

नीति अनुसार हुलदंगा तथा आतंकवाद जोखिम अझै नेपाल रिलाई मात्र जिम्मा दिइएको छ। २०७८ असारमा निजी क्षेत्रबाट हिमालयन रि–इन्स्योरेन्स स्थापना भए तापनि नीति अपरिवर्तित छ।

यस्तो छ नेपाल रिको वित्तीय अवस्था

नेपाल रिको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको ५१ करोड ५८ लाख रुपैयाँको तुलनामा ६.२९ प्रतिशत वृद्धि हो।

कम्पनीको सेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ। स्पेसल रिजर्भमा ४ अर्ब ६७ करोड ८० लाख, महाविपत्ति कोषमा ३७ करोड ८८ लाख, रिटेन्ड अर्निङमा ७४ करोड ३७ लाख र अन्य इक्विटीमा ७९ करोड ६८ लाख रहेको छ।

कम्पनीले तेस्रो त्रैमाससम्म ७ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १९ करोड २५ लाखको तुलनामा २६.५३ प्रतिशत वृद्धि हो।

खुद बिमाशुल्क ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँबाट बढेर ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ पुगेको छ, ३८.१३ प्रतिशत वृद्धि भएको छ। वार्षिक प्रतिशेयर आम्दानी ५.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४९.१५ रुपैयाँ रहेको छ।