काठमाडाैँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न दलहरूबिच आपसी सहकार्यसहित राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जनआन्दोलनपश्चात मुलुकमा संविधान विपरीत गतिविधि भइरहेको भन्दै लोकतान्त्रिक मूल्य र संविधान जोगाउन दलहरू जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
सिटौलाले लामो संघर्षपछि प्राप्त संविधानलाई सुरक्षित राख्न राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अघि बढ्न जरुरी रहेको बताउँदै, राष्ट्रिय एकता नै जनता, लोकतन्त्र, संवैधानिक व्यवस्था र संविधानको प्रमुख सुरक्षा कवच भएको स्पष्ट पारे । उनका अनुसार जनताका मुद्दा र माग सम्बोधन गर्ने गरी दलहरूले आफैंलाई परिमार्जित गर्नुपर्ने समय आएको छ।
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा औद्योगिक–व्यापारिक क्षेत्रहरूमाथि आक्रमण हुँदा मुलुकको अर्थतन्त्र संकटमा परेको भन्दै उनले भ्रष्टाचार, जनआक्रोश र सामाजिक असन्तोषलाई सम्बोधन गर्न राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे ।
उनले भने, “संविधान विपरीत गतिविधि भइरहेको छ। नेपाली कांग्रेस एकताबद्ध भएर अन्य दलहरूसँग छलफल गर्नुपर्ने विषयमा आजै बैठक बसेको छ। लामो संघर्षबाट प्राप्त संविधान र जनताको सर्वोच्चता जोगाउन राष्ट्रिय एकता नै सुरक्षाको ढाल हो। अहिले मतभेद र होडबाजीको समय होइन, एकताबद्ध भएर अघि बढ्ने समय हो।”
सिटौलाले जन–जी आन्दोलनका क्रममा सरकारले गरेको दमनको समेत विरोध गर्दै देशलाई संकटबाट मुक्त गर्न सबै दललाई सम्झाएर अघि बढ्न आवश्यक रहेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्