प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरियोः राष्ट्रपति पाैडेल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरिएको बताएका छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिको सरकारी निवास सितल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । मुलुक फेरी नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्ने विश्वास समेत व्यक्त गरे ।

उनले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए ।

उनले जेनजी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुर्ननिर्माण अहिलेको मुख्य कार्यभार रहेको बताए । उनले अबको ६ महिनाभित्रमा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न समेत आग्रह गरे ।

उनले राजनीतिक दल, मुुलुकको शासन तथा व्यवस्थापनमा आवद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशिल हुन आह्वान गरे ।

“मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ । नयाँ जनादेश ले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको अगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुर्ननिर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो,” उनले भने ।

उनले जेन जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति श्रदाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरे ।