जेन–जी आन्दोलनबारे एमाले नेता गैरेले भनेः आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ


काठमाडाैँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानबिन गरी दोषिलाई कानूनी कारबाही गर्नुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मूल आधार भएको भन्दै दलहरूले आफ्ना कमजोरी सच्याउँदै जनतामाझ सुदृढ भएर जानुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

नेता गैरेले भने, “जेन–जी आन्दोलनको नाममा जसरी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि आक्रमण भयो र देशलाई नै अस्थिर बनाउन खोजियो, त्यो दुःखद हो। यसको निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्ने मेरो अपेक्षा छ।”

उनले लोकतान्त्रिक शासन प्रणालीमा दलहरु जनतामार्फत निर्वाचित भएर आएकाले मुलुकको नेतृत्व गर्ने अधिकार उनीहरूकै भएको भन्दै दलहरुले गम्भीरतापूर्वक आत्ममूल्याङ्कन गरी सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

जेन–जी पुस्ताका माग सम्बोधन गर्न आवश्यक संवाद अपरिहार्य रहेको भन्दै उनले आन्दोलनका प्रतिनिधिहरूलाई पार्टी कार्यालयमै बोलाएर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र समान रूपले प्रतिवद्ध हुनुपर्नेमा पनि उनले जोड दिए।