प्रदर्शनपछि तोडफोड र लुटपाटमा संलग्नलाई रोक्न प्रहरीको सर्वसाधारणलाई सहयोगको आग्रह


काठमाडौँ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले हालैका प्रदर्शनका क्रममा तोडफोड र लुटपाटमा संलग्न आपराधिक गतिविधिबाट सुरक्षित राख्न सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रहरीका अनुसार २०८२ साल भदौ २३ गतेपछि देशभर भएका प्रदर्शनका क्रममा विभिन्न सरकारी कार्यालय, कारागार, बैंक तथा वित्तीय संस्था, निजी निवास, व्यापारिक भवन र पसलहरूमा तोडफोड हुनुका साथै त्यहाँ रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका वस्तु, सुनचाँदीका गरगहना, कम्प्युटर, ल्यापटपलगायतका सामग्री समेत लुटपाट भएको छ ।

प्रहरीले यस्ता सामग्री कसैले बिक्री वा वितरण गर्न ल्याएमा नकिन्न आग्रह गर्दै बिक्री वितरण भइरहेको वा तयारी भइरहेको भन्ने सूचना प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ ।

साथै यस किसिमका आपराधिक गतिविधि नियन्त्रण र रोकथाममा सर्वसाधारणको सहयोग अपरिहार्य भएको भन्दै प्रहरीले सूचना वा जानकारी उपलब्ध गराउन विशेष आग्रह गरेको छ ।

यसका लागि उपत्यका प्रहरी परिचालन कक्षको सम्पर्क नम्बर १०० वा ९८५१२८३०२६, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी ९८५१२८३०२७, उपत्यका अपराध अनुसन्धान कार्यालय ९८५१२८३०३२, जिल्ला प्रहरी परिसर काठमाडौँ ९८५१२८३०१२, जिल्ला प्रहरी परिसर ललितपुर ९८५१२८३०१७ र जिल्ला प्रहरी परिसर भक्तपुर ९८५१२८३०२० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।