काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा कारागार र सुधारगृह तोडफोड गरी फरार भएका कैदीबन्दीमध्ये हालसम्म ६ हजार ३२८ जना फर्किएका छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार दैनिकजसो कैदीबन्दीहरू फर्किरहेको छन्। उनका अनुसार कतिपय गल्ती भएको भन्दै आफै फर्किएका छन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको हो। पछिल्लो एक दिनमा मात्रै १४९ जना फर्किएका छन् ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार र नौ बालसुधार गृह तोडफोड गरिँदा १४ हजार ५५५ कैदीबन्दी फरार भएका थिए । तीमध्ये अझै ८ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य जारी रहेको विभागले जनाएको छ ।
विभागका अनुसार कारागारबाट मात्रै १३ हजार ५९१ र सुधारगृहबाट ९६४ जना भागेका थिए। अहिलेसम्म कारागारतर्फ ५ हजार ९८७ र सुधारगृहतर्फ ३४१ जना फर्किएका छन् ।
यस्तै, आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा राखिएका करिब दुई हजार आरोपीसमेत फरार भएको जनाएको छ। उनीहरूको खोजी पनि जारी छ ।
देशभर ३० हजार ६३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्रै कारागार र सुधारगृहमा रहेका कारागार व्यवस्थापन विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्