जेन–जी आन्दोलनः बढ्दो भ्रष्टाचार, बेरोजगारी र असमानताको उपज


काठमाडाैँ । नेपालको राजनीतिक इतिहास लामो संघर्ष, विद्रोह र उतार–चढावको श्रृंखलाले भरिएको छ । वि.सं २००७ साल यताका प्रजातान्त्रिक आन्दोलन, पञ्चायती व्यवस्था, जनआन्दोलन, जनयुद्ध र २०६२/२०६३ को जनआन्दोलनले पटक पटक नयाँ व्यवस्था जन्मायो ।

अन्ततः वि.स.२०६२/६३ को जनआन्दोलनले मुलुकमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो । मुलुकमा गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा हुँदा समेत राजनीतिले संस्थागत आकार लिन सकेन । जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले समेतम मुलुकमा समावेशी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्न सकेनन् ।

त्यसैको परिणाम हो गत भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलन । जेनजी आन्दोलनलाई विश्लेषकहरूले भ्रष्टाचार, असमानता र बेरोजगारीका कारण उत्पन्न भएको विश्लेषण गरिरहेका छन् । जनतामा शासकप्रति बढ्दै गएको वितृष्णा र आक्रोशका बीच नवयुवाहरुले चलाएको अभियानले समाजका सबै पक्ष र वर्गलाई आकर्षित गरेको कारण जेन–जी आन्दोलन सफल भएको राजनैतिक विश्लेषक रमेश अधिकारीको भनाइ छ ।

अधिकारीले उक्त आन्दोलन अप्रत्याशित भएपनि मुलुकको शासन प्रणालीको परिवर्तनको लागि आवश्यक रहेको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको प्रतिवेदन र तथ्याङ्कले नेपाल भ्रष्टाचारको उर्वर भूमि बनेको देखाएको उल्लेख गर्दै यसको अन्त्य गर्न जेन–जी आन्दोलन कोशेढुंगा सावित हुने बताए ।

उनले जेन–जी आन्दोलन हुनुका मुख्य कारणहरू भ्रष्टाचार, बेरोजगारी र असमानता रहेको बताए। उनले हुने खाने र नहुनेबीचको खाडल र असमानताले समाजमा सिर्जना गरेको विभेदले नै युवाहरूलाई सडकमा आउन बाध्य पारेको बताए । समाजका सबै तह र तप्काबिच विचार आदान प्रदान गर्ने मुख्य आधार रहेको सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीन सरकारको निर्णय आन्दोलनको उत्प्रेरक भएको उनको तर्क छ ।

जेन–जी पुस्ताको आन्दोलनपश्चात मुलुकमा व्यवस्था नै परिवर्तन भएको भाष्य निर्माण गरिएको उल्लेख गर्दै उनले यसलाई खारेज गरे। नेपालको संविधान, २०७२ मै टेकेर अन्तरिम सरकार गठनदेखि प्रतिनिधि सभा विघटनसम्म भएको उल्लेख गर्दै उनले अहिले मुलुकको अवस्था परिवर्तनको दिशामा अघि बढेको दाबी पनि गरे ।

जेन–जी आन्दोलनको एजेण्डा व्यवस्था परिवर्तन गर्ने नभएकोले गलत भाष्य स्थापित नगर्न सबैमा आग्रह गरे । जेन–जी पुस्ताको आन्दोलन पश्चात विकसित घटनाक्रमहरुलाई छिमेकी राष्ट्रहरूले सकारात्मक रूपमा लिनु महत्वपूर्ण भएको पनि बताए ।

नेपाल भूराजनीतिक केन्द्रबिन्दु भएको कारण विदेशी शक्तिको हस्तक्षेप हुनसक्ने परिस्थिति तत्कालको टरेको उनको बुझाइ छ । उनले नेपालको अगामी निर्वाचन सम्पन्न गराउनेदेखि लोकतन्त्रलाई सुदृढिकरण गर्ने छिमेकी राष्ट्रहरूको प्रतिवद्धताले नेपाललाई लयमा फर्काउने विषयमा सहयोग हुने आशा गर्न सकिने बताए ।

उनले जेन–जी पुस्ताको आन्दोलनपछि श्रीलंकाजस्तै नेपाल पनि राजनीतिक स्थायित्व र आार्थिक समृद्धिको दिशामा अघि बढ्ने विश्वास रहेको बताए । यद्यपी राजनीतिक दलहरूले सत्ता छोड्दैमा भइहाल्छ भन्ने भ्रममा कोही पनि पर्नु नहुने उनको भनाइ छ ।

मुलुकको शासन प्रणालीमै सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटबाट आशा राख्ने ठाउँ रहेको बताए । उनले वर्तमान सरकारलाई मध्यावधि निर्वाचन सम्पन्न गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि संरचना निर्माण गर्ने र मुलुकमा शान्ती स्थापना र सुशासन कायम गर्नुपर्ने कार्यभार रहेको बताए । मध्यावधि निर्वाचन गराउन असम्भव नभएपनि सोचेजस्तो सहज नभएको उनको बुझाइ छ ।

राजनीतिक दलभित्रको लोकतान्त्रीकरणको बहस

जेन–जी पुस्ताको आन्दोलनले राजनीतिक दलहरुलाई सबैभन्दा ठूलो चुनौती दिएको छ । सुध्रिने कि सक्किने ? राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरूले समेत नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दबाब दिन थालेका छन् ।

अधिकारीले राजनीतिक दलहरुभित्रको समाजिक संरचनामा व्यापक सुधारको र परिमार्जन आवश्यक रहेको बताए ।उनले राजनीतिक दलको नेतृत्व तहकमा युवा पुस्तालाई समेत समेट्नुपर्ने स्पष्ट सन्देश जेन–जी आन्दोलनले दिएको बताए । सबै तहलाई सामाजिक र युवा सहभागीमुलक बनाउन सकिए मात्रै मुलुक सकारात्मक दिशामा अगाडि बढ्नसक्ने भन्दै उनले तीन तहको सरकारमा पनि युवा सहभागिता बढाउन आवश्यक रहेको बताए ।

जेन–जी पुस्ताको शान्तीपूर्ण आन्दोलन हिंश्रक बन्दा ठूलो मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ । हालसम्म ७४ जनाको मृत्यु भएको छ भने सयौ अझै उपचाररत छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ । 

न्युज एजेन्सी नेपाल