काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेन जी आन्दोलनमा सरकारी र निजी सम्पत्तीमाथि भएको आक्रमण लोकतान्त्रिक मूल्य र मान्यतामाथिको आक्रमण भएको दाबी गरेका छन् ।
आइतवार महाराजगञ्जस्थित निजी निवासमा पत्रकारसँगको भेटघाटमा बोल्दै उनले अधिकारका लागि लढ्दा ज्यान गुमाउने कुरा धेरै दुःखद् भएको बताएका हुन् ।
नवयुवा पुस्ताले उठाएका सुशासन र अभिव्यक्तिको स्वतन्त्राको विषय नराम्रो नरहेको बताए । उनले देशका सम्पतीहरू नष्ट गर्न लोकतन्त्र विरोधी, अभिव्यक्ति विरोधी, देश र जनताको प्रगतिमा पनि इष्या गर्ने प्रवृत्तिहरू सामेल भएको जिकिर गरे।
शासन सञ्चालन गर्ने क्रममा राजनीतिक दलहरूबाट कमजोरी भएको स्वीकार गर्दै नेतृत्व तहबाट भएका कमजोरीलाई कानूनसम्मत ढंगबाट हटाउन सकिने बताए। जनप्रतिनिधिहरूको संस्था संसद विघटन हुनु नराम्रो भएको बताए । लोकतान्त्रिक, संवैधानिक व्यवस्थामा उभिएर नै भएका कमी कमजोरी हटाउन सकिने बताए ।
प्रवक्ता महतले दुवै दिनको घटनाको गम्भीर छानविन गरी दोषीउपर कारबाही हुनुपर्ने बताए। अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन सकिने भएपनि त्यो हुन नसकेको बताए । अब आउने दिनलाई लोकतान्त्रिक मूल्य र मान्यतमाथि आक्रमण गर्ने प्रवृत्तिबाट जोगाउनु नै अबको जिम्मेवारी हुने बताए ।
देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न जरुरी रहेको बताए । पार्टीमा रहेका सबै नेताहरु भ्रष्ट र गलत हुन् भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यो सरासर गलत भएको दाबी गरे । देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने नेताहरु पनि धेरै रहेको भन्दै यसलाई बिर्सन नहुने जिकिर गरे ।
प्रवक्ता महतले सहज हुँदा प्रशंसा र अफ्ठ्यारोमा गालीगलौजको वर्षा गर्ने कुरा उपयुक्त नहुने भन्दै सन्तुलित र संयम हुन आग्रह गरे । देश अहिले अफ्ठ्यारो परिवेशमा रहेको भन्दै सहज परिस्थितिमा लैजान जरुरी रहेको बताए । जेन जी पुस्ताको आन्दोलनका क्रममा प्रवक्ता महतको घर पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्