गगनलक्षित महतको टिप्पणीः आलो घाउमा नुनचुक छर्ने प्रवृत्ति गलत भयो


काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै भइरहेको नेतृत्व परिवर्तन सम्बन्धी बहसप्रति आपत्ति जनाएका छन् ।

आइतबार महाराजगञ्जस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले देउवामाथि भएको आक्रमणपश्चात उपचार समेत पूरा नहुँदै नेतृत्व परिवर्तनको बहस गर्नु संवेदनशील नहुने टिप्पणी गरेका हुन्। उनले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रका लागि लामो संघर्ष गरेका सभापतिलाई यस्तो अवस्थामा प्रश्न उठाउनु दुर्भाग्यपूर्ण भएको बताए ।

“आलो घाउ निको नहुँदै चलाइएको बहसप्रति गम्भीर बन्नुपर्छ । अहिले कमजोरी हटाएर पार्टीलाई एक बनाउनुपर्ने बेला हो । घाउमा नुन छर्ने प्रवृत्ति गलत हो,” प्रवक्ता महतले भने। उनले तत्काल नेतृत्व परिवर्तनको माग गर्ने नेताहरू पहिले सभापतिको नजिकै रहेका स्मरण गराउँदै अहिले अचानक नेतृत्वमै दोषारोपण गर्नु अनुचित रहेको धारणा राखे।

पार्टी महाधिवेशन समयमै सम्पन्न गरी नयाँ नेतृत्वको निर्वाचन गर्ने जिम्मेवारी पदाधिकारीलाई नै दिएको उल्लेख गर्दै प्रवक्ता महतले सम्पूर्ण दोष सभापतिमाथि मात्र थोपार्नु गलत भएको बताए। “कुरा गर्न सजिलो हुन्छ, तर काम गर्न गाह्रो हुन्छ । जिम्मेवारी जति थियो, सबैले लिनुपर्छ,” उनले भने ।

प्रवक्ता महतले संवैधानिक व्यवस्थालाई पूर्ण रूपमा टेकेर अहिलेको सरकार बन्न नसकेको दुःख व्यक्त गर्दै संविधानसम्मत बाटोबाट अघि बढ्नुपर्नेमा जोड दिए। जेनेजीआन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमाथि भएको तोडफोड र आगजनीप्रति उनले गम्भीर ध्यानाकर्षण गराउँदै संलग्नहरूलाई छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।

नवपुस्ताको आन्दोलनले नयाँ सोच्न बाध्य बनाएको भन्दै प्रवक्ता महतले व्यवधानका बाबजुद देशमा थुप्रै प्रगतिहरु भएको दाबी गरे ।