नेप्सेमा १११ अंकको बाउन्स ब्याक, ९ कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं । जेनजी आन्दोलनपछि खुलेको पहिलो दिनको कारोबारले ठुलो झट्का लागेका लगानीकर्तालाई आजको कारोबारले राहत प्रदान गरेको छ । साताको कारोबारको पहिलो दिन आइतबार (आज) नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.६२ अंकमा पुगेको छ ।

गत बिहिबार नेप्से परिसूचक १६० अंकले घटेपछि लगानीकर्ताहरु आत्तिएका थिए । आत्तिएका लगानीकर्ताको मनोबल उच्च उदेश्यले अर्थमन्त्री डा. रामेश्वर खनालले पुँजीबजारका समस्या समाधान गर्न एक कार्यदल बनाए । यता धितोपत्र बोर्डले पनि नेप्से सुचकाङ्क गणना पाँच महिना पहिल्यैको अवस्थामा फर्कादियो ।

दिउँसो २ः४५ बजेदेखि ३ बजेसम्म कायम हुने भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिन्थ्यो । सो अवधिमा कुनै कारोबार नभए पछिल्लो कारोबार मूल्यलाई आधार मानिन्थ्यो । तर, अब नयाँ व्यवस्थाअनुसार सूचकाङ्क प्रत्यक्ष अन्तिम कारोबार मूल्यमै आधारित हुने छ ।

यि विभिन्न निर्णयले पनि लगानीकर्ताको मनोबल बढ्दा बजारमा सकरात्मक परिर्वतन आएको सेयरबजारका विज्ञहरु बताउँछन् । चाडपर्वको मुखमा खर्चको जोहो गर्न ठुला लगानीकर्ताले सेयर खरिद गरेको उनिहरुको भनाई छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसममुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८३ करोड १३ लाख ५५ हजार बढिको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा ९ ओटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आजको दिन ३२९ कम्पनीको २ करोड ३२ हजार २ सय २४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार बढिको सेयर कारोबार भएको छ ।