काठमाडौँ । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी आन्दोलनले देशमा ठूूलो परिवर्तन ल्याएको बताएकी छन् ।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनले सुशासनको मागसहित नयाँ युगको सुरुवात गरेको दाबी गरेकी हुन्। उनका अनुसार आन्दोलनका क्रममा युवाहरूले गोलीसमेत खानुपरेको भए पनि उनीहरुले पद र स्वार्थका लागि होइन, देश र समाजमा सुशासन स्थापनाका लागि बलिदानी दिएका थिए ।
“जेन–जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि आन्दोलन गरेका होइनन्, उनीहरुको माग केवल सुशासन, योग्यताको कदर होस्, विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने थियो,” उनले भनिन् । उनले जेन–जी पुस्तालाई पदमा पुग्ने रहर नभएको समेत स्पष्ट पार्दै, आन्दोलन गर्दा उनीहरुले जागिर खान मान्छे खोज्नुपर्ने बाध्यता अन्त्य होस् भन्ने चाहेको उल्लेख गरिन् ।
बरालले आन्दोलनका क्रममा जेन–जीहरूले सार्वजनिक सम्पत्ति नजलाएको समेत दाबी गरिन्। उनका अनुसार उनीहरूले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने सोच नै गरेका थिएनन् । जेल ब्रेकपछि भागेका कैदीहरूले सरकारी वकिल कार्यालय र अदालतमा आक्रमण गरे पनि त्यसलाई जेन–जी आन्दोलनसँग जोड्न नसकिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्