चाडपर्व मर्यादित र सुरक्षित ढंगले मनाउन स्याङ्जा प्रशासनकाे आग्रह


स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लावासीलाई बडादशैं, तिहार, नेपाल सम्बत् र छठ पर्व सुरक्षित र मर्यादित तरिकाले मनाउन आग्रह गरेको छ।

आज सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एक सूचना जारी गर्दै कार्यालयले पर्वका अवसरमा सामाजिक सद्भाव, भाईचारा र सांस्कृतिक परम्पराको संरक्षण हुने गरी कानुनको पालना गर्न सबैलाई आग्रह गरेको हो।

सूचनामा राति १० बजेपछि नाचगान तथा अन्य कार्यक्रम नगर्न, दीपावलीमा विद्युत् बत्ती वा मैनबत्ती सावधानीपूर्वक प्रयोग गर्न, सार्वजनिक स्थलमा मदिरा सेवन, होहल्ला वा झगडाजस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ।

यात्रा सुरक्षाबारे सचेत गराउँदै प्रशासनले सवारीसाधनको छतमा बस्ने, झुण्डिने, बढी भाडा असुल्ने वा क्षमताभन्दा बढी यात्रु चढाउने कार्य भए तत्काल प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी दिन अनुरोध गरेको छ।

त्यस्तै, बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि वा म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्रीवितरण नगर्नरनगराउन पनि चेतावनी दिइएको छ।