सुनको मूल्य प्रतितोला ३९ सयले बढ्दै नयाँ रेकर्ड कायम


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज फेरि इतिहासकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ६ गते सुन प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो, जुन त्यसबेलासम्मकै रेकर्ड थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, तेलको मूल्य वृद्धिको असर र अमेरिकी डलरको मजबुतीका कारण सुनको मूल्य निरन्तर चढाइमा रहेको देखिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनभन्दा प्रतितोला ३० रुपैयाँ बढ्दै चाँदीको मूल्य प्रतितोला २ हजार ६८० रुपैयाँ कायम भएको छ ।

विशेषज्ञहरूले सुनलाई सुरक्षित लगानीको विकल्पका रूपमा हेर्ने प्रवृत्ति बढेका कारण समेत मूल्य उच्च विन्दुमा पुगेको बताएका छन् ।