काठमाडौँ । बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानका लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्रीले आकस्मिक विपत्तिबाट सरकारी सम्पत्ति पनि ठूलो क्षति हुने गरेको तर त्यसको बीमा प्रायः नभएको बताए ।
उनले भने, “नेपालमा धेरैपटक नसोचेका घटना हुन्छन् । भूकम्पको समयमा पनि सरकारी सम्पत्तिको क्षतिको बीमा गरिएको थिएन । अहिले भएका सरकारी सम्पदाको पनि बीमा गरिएको छैन । त्यसैले अब सम्पूर्ण सरकारी सम्पत्ति बीमा अनिवार्य गर्नुपर्छ ।”
क्षेत्रीले यससँगै बैंक इन्सोरेन्सलाई पनि अत्यावश्यक भएको उल्लेख गरे । उनका अनुसार बैंक इन्सोरेन्सले सम्पूर्ण क्षेत्रलाई कभर गर्न सक्ने भएकाले यसको विस्तार अपरिहार्य छ । “अहिलेको आन्दोलनले ठूलो क्षति गर्छ भन्ने बीमा कम्पनीहरूले सोचेका थिएनन्, तर नसोचेको घटना भयो,” उनले भने, “हालको घटनाबाट भएको क्षतिको करिब ६५ प्रतिशतसम्म बीमा कभर गर्ने योजना छ ।”
उनले बीमा क्षेत्रलाई सुदृढ बनाउन निजी मात्र नभई सरकारी सम्पत्ति र सम्पदाको समेत बीमा सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्