काठमाडौँ । बिमक संघ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले हालका आन्दोलनका कारण परेको बिमा दाबीमध्ये साना प्रकृतिका दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रियामा बोल्दै वैद्यवारले हालसम्म परेको बिमा दाबी नेपालकै इतिहासमै ठूलो रहेको बताए ।
उनका अनुसार असोज ५ गतेसम्म निजी क्षेत्रबाट मात्र २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । “यो सरकारी सम्पत्ति बाहेकको हो,” वैद्यवारले भने, “निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०–२५ प्रतिशत मात्र बिमाको दायरामा आएको रहेछ ।”
उनले हालसम्म २ हजार ४७८ वटा बीमा दाबी परेको जानकारी दिए, जसलाई नेपालको इतिहासमै सबैभन्दा ठूलो दाबी संख्याका रूपमा लिइएको छ । यसअघि भूकम्पका कारण १७ अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो भने गत साल असोजमा आएको बाढीले करिब १३ अर्ब बराबरको दाबी दर्ता भएको स्मरण गराए ।
वैद्यवारका अनुसार दाबीमध्ये करिब १ हजार ७ सय साना प्रकृतिका दाबी छन्, जसको मूल्य ४०–५० लाखदेखि २ करोडसम्मको हुने अनुमान छ । “यी दाबीहरूलाई हामीले तिहारसम्म भुक्तानी गर्नेछौं । सरल ढंगले भुक्तानी प्रक्रिया अघि बढाइनेछ,” उनले बताए ।
उनले ठूला प्रकृतिका दाबीबारे भने एडभान्स भुक्तानी दिने तयारी भएको उल्लेख गरे । गाडी जलेको अवस्थामा ड्राइभिङ लाइसेन्स, विलबुक र प्रहरीको प्रमाणपत्र पेश गरेपछि दाबी सजिलै भुक्तानी हुने जानकारी उनले दिए ।
वैद्यवारले हालसम्म आएका २२ अर्ब रुपैयाँ बराबरका दाबी स्पेसल रिजर्भ मार्फत कभर गर्ने तयारी भएको पनि जानकारी दिए । “हामीसँग २७–२८ अर्ब बराबरको स्पेसल रिजर्भ छ । त्यसैले आत्तिनुपर्ने अवस्था छैन । साथै, हाम्रो पछाडि पुनर्बीमा कम्पनीहरूको साथ छ,” उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्