रास्वपाका कार्यकर्ताहरू जेनजी आन्दोलनमा सक्रिय भए पनि पार्टीको अगुवाइमा थिएनः प्रवक्ता झा


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीका सदस्यहरूको सहभागिता रहेपनि पार्टीले आन्दोलनमा आफ्नो झण्डा बोकी अगुवाइ नगरेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता झाले भदौ २३ गतेको आन्दोलनमा पार्टीका पूर्वकेन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरु गणेश कार्की, कान्तिशिखा लगायतका सदस्यहरुको सक्रिय भूमिका रहेको बताएका हुन्। उनले तुलनात्मक रुपमा अन्य पार्टीको भन्दा रास्वपाका कार्यकर्ताहरु बढी संख्यामा सहभागी भएको दाबी गरे ।

उनले भने, “हाम्रो पार्टीमा जेनजी अहिले पनि सक्रिय छन्। हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन–जी पुस्ताबाट हुनुहुन्छ। केन्द्रिय सदस्य त्यतिबेला उपस्थित हुनुहुन्थ्यो, सुमना जी पनि सहभागी हुनुहुन्थ्यो। गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरु, सम्भवतः अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा सबैभन्दा बढी उपस्थित थिए। तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो भनेर दाबी गरेका थिएनौं।”

त्यस्तै, उनले भदौ २४ गतेको घटनामा पार्टीको सहभागिता नरहेको दाबी गरे। पार्टीले सो घटनामा सहभागी हुन कुनै आव्हान नगरेको र आगजानी तथा लुटपाट पार्टीको सिद्धान्तमा नभएको उनको भनाइ छ। साथै, उक्त घटनाको छानविन हुनुपर्नेमा उनले जोड दिए।