अर्थमन्त्री खनालसँग भारत–चीनका राजदूतको शिष्टाचार भेट, द्विपक्षीय आर्थिक साझेदारीमा जोड


काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग आज मंगलबार भारत र चीनका राजदूतहरूले छुट्टाछुटै शिष्टाचार भेट गरेका छन् ।

भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारत बिचको लामो समयदेखि कायम विशेष सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई दिँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले हाल नेपालमा रहेको विषम परिस्थितिमा छिमेकी देश र दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औँल्याए ।

भारतीय राजदूत श्रीवास्तवले भारत नेपालकै सबैभन्दा नजिकको छिमेकी भएकोले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउँदै यो विषम परिस्थितिमा पनि सहयोगका लागि भारत सधैं नेपालको साथमा रहेको उल्लेख गरे ।

उनले भारतको सहयोगमा सञ्चालन भइरहेका विकास परियोजना र कार्यक्रममा गति थप्ने, नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रको मनोबल उच्च राख्न आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको जानकारी दिए । भेटमा नेपाल–भारतबिचको व्यापार सहजीकरणका लागि दुबै पक्षबिच समन्वय सुदृढ बनाउने विषयमा पनि छलफल भएकाे थियाे ।

त्यसैगरी चीनका राजदूत महामहिम चेंग सोङ्गसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालकै असल छिमेकी भएको उल्लेख गर्दै निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।

खनालले वर्तमान सरकारको मुख्य कार्यमा तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको र चीनसँगको आर्थिक साझेदारी निरन्तरता दिने योजना रहेको बताए।

साथै, बैंकिङ क्षेत्रमा साझेदारी प्रगाढ बनाउने, चीनको बैंक शाखा नेपालमा स्थापना गर्ने, निकासीको भुक्तानी प्रक्रियामा सरलिकरण गर्ने र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने पहल गर्न पनि अनुरोध गरे ।

चिनियाँ राजदूत चेंग सोङ्गले चीनले नेपाली जनताको छनौटको सम्मान गर्दै आएको र नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने बताए। उनले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरू सन्तोषजनक रूपमा अघि बढिरहेको र परिस्थिति अनुकूल भएमा चिनियाँ लगानीकर्तासँग छुट्टै अन्तर्क्रिया गरिने जानकारी दिए ।