स्काइपिक एड्भेन्चर्स पार्क लिमिटेडले आइपिओ ल्याउने


काठमाडौँ । बन्दीपुर स्काई वाक कम्पनीले आफ्नो नाम परिवर्तन गरेर ‘स्काइपिक एड्भेन्चर्स पार्क लिमिटेड’को रूपमा आइपिओ मार्फत रु. १८ करोड ६ लाख ६४ हजार को सेयर बिक्री गर्ने भएको छ । कम्पनीको जारी पुँजी रु. ८८ करोड रहेको छ ।

कार्तिक १ गते बस्ने बार्षिक साधारण सभाबाट आइपिओको प्रस्ताव पारित गरी निष्कासन प्रक्रिया अगाडि बढाउने योजना तय गरेको छ ।

विश्वस्तरीय साहसिक पर्यटन केन्द्र बनाउने लक्ष्य सहित कम्पनीले केवल एउटा पार्क नभई नेपालमै विश्वस्तरीय स्तरको साहसिक पर्यटनको एक अद्वितीय केन्द्र बनाउने योजना राखेको छ ।

यसको लागि पार्कले १५ वटा भन्दा बढी आकर्षक सुविधा तथा साहसिक गतिविधिहरू उपलब्ध गराउने योजना बनाएको छ ।

कम्पनीले ९७ मिटर लामो क्यान्टिलिभर गलास वाक् (हावामा हिँड्ने अनुभव), बञ्जी जम्प, सोप स्विङ्ग, फ्लाई डाइनिङ्ग (साहसिक रोमाञ्चको चरम सीमा), एटिवी सफारी, किड्स जोन, भ्युज रूम सहितको टावर (हिमालयको दृश्य), क्याप्सुल लिफ्ट, गलास स्काइ वाक्, मेटल टावर क्लाइंबिंग, टावर जम्प, रक क्लाइमबिङ्, एज वाक्, एड्भेन्चर क्याम्प, मेकानिकल स्विङ्ग, १०८ फिट अग्लो आदियोगी मूर्ति र धार्मिक पार्क बन्ने छ ।

यी आयोजनाहरूको चरणबद्ध निर्माण र सञ्चालन गर्ने गरि निर्माण कार्य सम्पन्न गरिरहेको छ । अर्को ६ महिनाभित्र नै अधिकांश उत्पादनहरूको व्यावसायिक सञ्चालन सुरु हुने र बाँकी प्रडक्ट अर्को १८ महीनाभित्र जस्तो क्यान्टिलिभर गलास वाक्, सोप स्विंग र बंजी जम्प संचालनमा आउनेछ।

रु. १ अर्ब ७० करोड लागत रहेको यो ठूलो परियोजनाको लागि रु. ८८ करोड सेयर पूँजी र रु. ८२ करोड बैंक ऋणबाट लागत बेवस्थापन गरिने कम्पनीले जनाएको छ ।

चरणबद्ध सञ्चालन सँगै लाभांश र जोखिम व्यवस्थापनसहित कम्पनीले आफ्नो व्यावसायिक सञ्चालनपछि वार्षिक नाफाबाट कानुन बमोजिमको नगद लाभांश वितरण गर्ने बतएको छ ।

पहिलो दुई वर्ष निर्माण कालको अवधि हुने भएतापनि यसपछिको अवधिमा नियमित रूपमा लाभांश दिने लक्ष्य राखेको छ ।