स्कुलका विद्यार्थीहरूलाई दूध पान गराएर मनाइयाे विश्व स्कूल दूध दिवस


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले ‘विश्व स्कूल दूध दिवस’का अवसरमा काठमाडौँको हाँडिगाउँस्थित सेन्ट जर्ज स्कुलमा विद्यार्थीहरूलाई दूध पान गराएर दिवस मनाएको छ। कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला र मनोज कुमार घिमिरे, केन्द्रीय सदस्य रमेश सन्जेल, कुल प्रसाद धमला, चेतनाथ दाहाल (केदार), नवराज तिमल्सिना, शिव घिमिरे, रविशरण थापा, बागमती प्रदेशका कोषाध्यक्ष दिपक सन्जेल, नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरे, महासचिव श्रीकृष्ण भण्डारी, रोटरी क्लब अफ कपनका पदाधिकारीलगायतको उपस्थिति थियो।

नेपाल डेरी एसोसिएसनले नेपालमा सन् २०१६ बाट विश्व स्कूल दूध दिवस मनाउन सुरू गरेको हो। यस वर्ष ‘बालबालिकाको स्वास्थ्य त उज्ज्वल भविष्य, दैनिक दूध अनिवार्य’ भन्ने नारासहित देशभरका प्रदेश र जिल्ला समिति मार्फत विभिन्न कार्यक्रम गरी दिवस मनाइएको एसोसिएसनले जनाएको छ।

विद्यालयका प्राचार्य मेघराज बजगाईँले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्न आग्रह गरे।

प्रमुख अतिथि श्रेष्ठले विश्वभर बालबालिकाले दुध सेवनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दिवस मनाइने जानकारी दिँदै, यसले बालबालिकामा पोषण, स्वास्थ्य र अध्ययनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यो दिवस खाद्य तथा कृषि संगठन र इन्टरनेशनल डेरी फेडेरेसनको सहयोगमा विश्वभर मनाइने गरेको जानकारी पनि दिए।

केन्द्रीय सदस्य रमेश सन्जेलले यस वर्षको विश्व स्कूल दूध दिवस सेप्टेम्बर २४ मा परेको उल्लेख गर्दै यो दिवस हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने जानकारी दिए।

राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत शंकर अधिकारीले विद्यालय दूध कार्यक्रमले बालबालिकालाई नियमित पौष्टिक दूधको पहुँच सुनिश्चित गर्ने बताए। उनले यसले कुपोषण न्यूनीकरण, हड्डी मजबुत बनाउन, आवश्यक प्रोटिन, क्याल्सियम, भिटामिन र अन्य खनिज पदार्थ पूर्ति गर्न मद्दत गर्ने र विद्यार्थीहरूको अध्ययन प्रदर्शनमा सुधार ल्याउने बताए।

उपाध्यक्ष दीपप्रसाद धमलाले दुध उत्पादनमा संलग्न किसान र स्थानीय समुदायलाई सुदृढ बनाउन दिवसले योगदान गर्ने उल्लेख गर्दै, जनचेतना फैलिएसँगै दूध खपतमा समेत वृद्धि हुने धारणा राखे।

कार्यक्रममा अध्यक्ष दाहालले विश्वविद्यालय, विद्यालय, शिक्षक, अभिभावक, सरकार र उद्योग क्षेत्रले दूधको स्वाद परीक्षण, विद्यालयमा दूध वितरण, पोषणसम्बन्धी कार्यशाला, डेरी फार्म भ्रमण, जनचेतना अभियान, सामाजिक सञ्जाल र पोस्टरमार्फत प्रचारप्रसार गर्ने जस्ता गतिविधि आयोजना गर्ने बताए। उनले यसरी आयोजना गरिएका कार्यक्रमहरूले दुधको महत्वबारे व्यापक जानकारी पुग्नेमा विश्वास व्यक्त गरे।