काठमाडौँ । नेपाल सरकारले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२’ जारी गरेको छ।
मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार जारी आदेशमार्फत भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण ठूलो मात्रामा संरचनागत क्षति भएकाले तत्कालीन पुनर्निर्माण तथा मर्मत, राहत र पुनर्स्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सरकारले आह्वान गरेको हो।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट योगदान गर्न अर्थ मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार राष्ट्र पुनर्निर्माणको यो अभियानमा सहयोग स्वरूप गरिएको आर्थिक योगदान रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न सकिनेछ।
आर्थिक सहायता रकम राष्ट्रिय बाणिज्य बैंक, सिंहदरबार, काठमाडौंस्थित ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष नामको खातामा जम्मा गर्न सकिनेछ। खाताको नम्बर 1960100102070004 र SWIFT CODE RBBANPKA तोकिएको छ। सो कोषमा क्यूआर काेड वा फाेनपे मार्फत पनि रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता टेक प्रसाद पाण्डेले राष्ट्र पुनर्निर्माणको यस अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अमूल्य योगदान गर्न सर्वसाधारणसँग हार्दिक आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस्