गुणस्तरीय सेवामा केन्द्रित हुन राष्ट्रसेवक कर्मचारीलाई मन्त्री खनालको आग्रह


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनालले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई नागरिकको अपेक्षा पूरा गर्ने गरी शीघ्र र गुणस्तरीय सेवाप्रवाहमा केन्द्रित हुन आग्रह गरेका छन्।

मन्त्री खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत भाद्र २३ र २४ गते युवाको अगुवाइमा भएको आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्दै कर्मचारीले आफ्नो भूमिकालाई रूपान्तरण गर्नुपर्ने बताएका छन्।

उनका अनुसार आन्दोलनका सहिदहरूको सपना पूरा गर्न भ्रष्टाचार नियन्त्रण गरी सुशासनयुक्त नेपाल निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता छ।

विज्ञप्तिमा सरकारले कर्मचारीको सेवा–सर्त, वृत्ति विकास र सुविधा सम्बन्धी हकअधिकारमा असर पर्ने कुनै निर्णय नगर्ने स्पष्ट पारिएको छ। साथै प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शीतासहितको सेवाप्रवाहलाई अविच्छिन्न रूपमा कायम राख्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरिएको छ।

मन्त्री खनालले कार्यवोझ कम भएका कार्यालयमा दरबन्दी घटाई, बढी भएका कार्यालयमा बढाउने नीति सरकारको रहेको पनि जानकारी दिएका छन्। यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने जनाइएको छ।

यस्तै, सबै सरकारी कार्यालयमा सुरक्षित कार्य वातावरण निर्माण गर्दै निर्वाध सेवाप्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता समेत मन्त्री खनालले जाहेर गरेका छन्।

उनले सम्पूर्ण कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न केन्द्रित रहन र मनोबल कमजोर पार्ने वा कार्यालयको काममा बाधा पर्ने गतिविधिमा संलग्न नहुन आह्वान गरेका छन्।