काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यतालिका तय गरिएको हो ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।
पूर्व प्रधानन्यायाधीश कार्की भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार गठन भएको थियो ।
कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नु रहेको सरकारका स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्कीको आजको सम्बोधनमा हालको राजनीतिक अवस्था, सरकारको प्राथमिकता र आगामी निर्वाचनका विषयमा स्पष्ट सन्देश आउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्