काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।
बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताए ।
उनले राजनीतिक दलहरुभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गरे । प्रमुख तीन परम्परागत दलका शिर्ष नतोहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरुले मुलुकलाई असफल बनाएको उनले टिप्पणी गरे ।
उनले मुलुकमा सुशासन कायम गर्नको लागि जेन–जी विद्रोह जायज भएपनि केही नेता र वाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरुलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने उनले बताए ।
उनले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रतयक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताए । निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरुले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने उनले उल्लेख गरे ।
उनले जेनजी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिए ।



प्रतिक्रिया दिनुहोस्