काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गरेका छन् ।
बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अब नयाँ र वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।
उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवापुस्ताप्रति प्रतिवद्ध हुनुपर्ने पनि बताए । अहिले सरकार राजनीतिक दलहरुसँग ढल्किए इतिहासले लेखाजोखा गर्ने उनले चेतावनी दिए ।
उनले जेनजी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भिर त्रुटी भएको समेत बताए । सुरक्षा निकायले युवाहरुमाथि बल प्रयोग गरेको तथा मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगजनी हुँदा समेत तमासे भएर बसेको उनले आरोप लगाए ।
उनले भने, “सरकारलाई म आग्रह गर्न चाहन्छु । तपाईहरुको प्रतिवद्धता बिद्रोही शक्तिसँग हुनुपर्छ । उहाँहरुकै सरसल्लाहमा काम गर्नुपर्छ । कुनैपनि बहानामा पुराना शक्तिहरुसँग ढल्कने काम गर्नुभयो भने तपाईहरुको पनि इतिहासले हिसाव गर्नेछ । हाम्रो सुरक्षा संयन्त्रको पनि गम्भीर कमजोरी देखियो । पहिलो कुरा त बल प्रयोग गरेर युवाहरुको हत्या गर्नु हुँदैनथ्यो । अर्को दिन सिंहदरबारसहित राज्यका अंगहरु जलिरहँदा एउटा दमकल समेत नदौड्नु, सरकारले पालेर राखेको सुरक्षा तमासे भएर बस्यो, त्यो के भइरहेको थियो । त्यसको उहाँहरुले पनि समिक्षा गर्नुपर्दछ । र पूरा भ्रष्टिकृत भइसकेका राजनीतिक दलहरु अब कुनै पनि बहानामा किन्तु परन्तु नगरीकन फरि टाउको उठानउ दिनु हुँदैन । अब नयाँ र वैकल्पिक शक्तिहरु आएर नै देशको नेतृत्व लिनुपर्छ ।”
मुलुकको शासकीय सुधार गर्दै दिगो विकासको बाटोमा लैजान युवाहरु संस्थागत भएर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।
उनले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताए । राजनीतिक दलहरुभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनले उल्लेख गरे ।
उनले प्रमुख तीन परम्परागत दलका शिर्ष नतोहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरुले मुलुकलाई असफल बनाएको टिप्पणी गरे । मुलुकमा सुशासन कायम गर्नको लागि जेनजी विद्रोह जायज भएपनि केही नेता र वाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी गरेका हुन् ।
उनले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरुलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताए । अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रतयक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनले उल्लेख गरे । निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरुले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने उनले बताए ।
उनले जेनजी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्