काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको पहिरो पन्छाउने काम ६० प्रतिशत सकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
मन्त्री कुलमान घिसिङको सचिवालयले कुनै पनि बाधा आइ नपरे निरन्तररूपमा कार्य गर्न सकिएको खण्डमा संभवतः आज रातीसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने आँकलन गरिएको जनाएको छ ।
पहिरो पन्छाउनका लागि नारायणगढ तर्फबाट एक्साभेटर– १, लोडर–१ र मुग्लिन तर्फबाट लोडर–२, एक्साभेटर–१ उपकरणहरू प्रयोग गरिएको छ ।
दुवैतर्फ थप १/१ ओ टा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेको र काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट ५ ओटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्री घिसिङको सचिवालयले भनेको छ,“पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठुलाठुला ढुङ्गाहरूका कारण केही कठिनाइ भएतापनि हामीसँग भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेका छन् । पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६०% सम्पन्न भएको व्यहोरा अवगत गराउन चाहन्छौँ ।”
पहिरोको थुप्रोमा ढुङ्गाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुङ्गाहरुका कारण टायर पञ्चर हुने, ढुङ्गाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरूले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेपछि हेभि इक्प्युमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुइजना अपरेटरहरू पनि थप गरिएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्